John 8:1-59 ONCV
[1] तर येशू जैतुन डाँडामा जानुभयो। [2] भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो। [3] व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए, [4] र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो। [5] व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ?” [6] तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो। [7] जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।” [8] अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो। [9] त्यसपछि यो कुरा सुन्नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो। [10] तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?” [11] त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।” [12] फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” [13] तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।” [14] येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्ने बारेमा तिमीहरू जान्दैनौ। [15] तिमीहरू मानिसको दृष्टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ। [16] तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु। [17] तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। [18] मेरो आफ्नै विषयमा गवाही दिने एक जना म नै हुँ। अनि मेरो अर्को गवाहीचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।” [19] तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ, न त मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।” [20] येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन। [21] येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदैछु, र तिमीहरूले मलाई खोज्नेछौ। अनि तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” [22] ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?” [23] तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ। [24] मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।” [25] तिनीहरूले सोधे, “तिमी को हौ त?” येशूले जवाफ दिनुभयो, “म जो हुँ, मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ। [26] तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।” [27] तर उहाँले पिताको विषयमा भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्। [28] त्यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ। [29] जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।” [30] उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्वास गरे। [31] येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ। [32] तब तिमीहरूले सत्यतालाई जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” [33] तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्ने कुरा तपाईं कसरी भन्न सक्नुहुन्छ?” [34] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो। [35] घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। [36] त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। [37] तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन। [38] मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।” [39] तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” येशूले भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ। [40] तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्। [41] तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्वर हुनुहुन्छ।” [42] येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूका पिता परमेश्वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्वरले पठाउनुभयो। [43] मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्न सक्दैनौ। [44] तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो। [45] किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्वास गर्दैनौ! [46] के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? [47] जो परमेश्वरबाटको हो, त्यसले परमेश्वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्नुको कारण यही हो, तिमीहरू परमेश्वरका होइनौ।” [48] यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?” [49] येशूले भन्नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ। [50] म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ। [51] म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।” [52] अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ। [53] के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?” [54] येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ। [55] तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूसरह झूटो बन्ने थिएँ। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। [56] तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।” [57] यहूदीहरूले उहाँलाई भने, “तिमी आफैँ पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?” [58] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!” [59] यतिबेला तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे। तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्क बाहिर निस्केर जानुभयो।
