John 6:1-71 ONCV

[1] यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो। [2] अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए। [3] त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्‍नुभयो। [4] यहूदीहरूको निस्तार चाड नजिकै थियो। [5] येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्‍नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?” [6] उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो। [7] फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्‍न पनि पर्याप्‍त हुँदैन!” [8] उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, [9] “यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?” [10] येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। [11] त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो। [12] तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।” [13] तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे। [14] येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्‍न लागे, “निश्‍चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।” [15] तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्‍ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो। [16] साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे, [17] र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन। [18] त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो। [19] तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। [20] तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!” [21] तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो। [22] भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे। [23] त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्‍लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए। [24] त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्‍ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए। [25] तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?” [26] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ। [27] नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।” [28] तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्‍वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?” [29] येशूले जवाफ दिनुभयो, “परमेश्‍वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्‍वास गर।” [30] यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्‍वास गरौँ? तपाईं के गर्नुहुन्छ? [31] हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’” [32] येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। [33] किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।” [34] तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।” [35] तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। [36] तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ। [37] पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ। [38] किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। [39] मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ। [40] किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।” [41] यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्‍नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।” [42] तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍न सक्छ?” [43] येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर। [44] मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। [45] अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्‍वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ। [46] परमेश्‍वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ। [47] म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ। [48] जीवनको रोटी म नै हुँ। [49] तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए, तापनि तिनीहरू मरेर गए। [50] तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्। [51] जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।” [52] त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?” [53] येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन। [54] जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु। [55] किनकि मेरो मासु साँच्‍चै खानेकुरा र मेरो रगत साँच्‍चै पिउने कुरा हो। [56] जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु। [57] जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। [58] स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।” [59] उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो। [60] यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?” [61] यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो? [62] यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला! [63] आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्। [64] तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो। [65] उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।” [66] त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्। [67] तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?” [68] सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। [69] हामी विश्‍वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।” [70] तब येशूले भन्‍नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!” [71] (यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्‍नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।)

About this translation

Life Bible app icon
Get the Life Bible app ★★★★★4.8 · 216K ratings Read offline, sync highlights and notes, and study with your library on any device.