John 3:1-36 ONCV
[1] फरिसी दलका निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए। [2] तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।” [3] येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।” [4] निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्न त सक्दैन!” [5] येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। [6] शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। [7] ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्ने मेरो भनाइमा अचम्म नमान। [8] बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।” [9] निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?” [10] येशूले भन्नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ? [11] म तिमीलाई साँच्चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ। [12] मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु। तर पनि तिमीहरू विश्वास गर्दैनौ। तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्वास गरौला? [13] स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा गएको छैन। [14] जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र पनि उचालिनैपर्छ, [15] तब उहाँमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।” [16] किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। [17] किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। [18] जसले उहाँमाथि विश्वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्वरका अद्वितीय पुत्रको नाममा विश्वास गरेको छैन। [19] फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए। [20] हरेक जसले दुष्ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्ने डरले त्यो ज्योतिमा आउँदैन। [21] तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्वरद्वारा गरिएका हुन् भन्ने कुरा स्पष्ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ। [22] यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो। उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्तिस्मा दिनुभयो। [23] यसै समयमा यूहन्नाले पनि सालीमको नजिकै एनोनमा बप्तिस्मा दिइरहेका थिए। किनकि त्यहाँ प्रशस्त पानी थियो। अनि बप्तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए। [24] (यो यूहन्ना झ्यालखानामा पर्नुभन्दा अगिको कुरा थियो।) [25] यूहन्नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो। [26] तिनीहरू यूहन्नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्तिस्मा दिँदैहुनुहुन्छ। अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।” [27] यसै कुरालाई यूहन्नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसले स्वर्गबाट जे दिइन्छ, त्यो मात्र पाउन सक्छ। [28] ‘म ख्रीष्ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्ने बारेमा तिमीहरू आफैँले गवाही दिन सक्छौ। [29] दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ। अनि उसको सोर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ। [30] उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ। [31] “जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। [32] उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्। [33] जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ। [34] किनकि परमेश्वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्वरकै वचन बोल्दछ। किनकि परमेश्वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ। [35] पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ। [36] जसले पुत्रमाथि विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्वरको क्रोध त्यसमा रहन्छ।”
