John 15:1-27 ONCV
[1] येशूले भन्नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। [2] ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ। [3] मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। [4] ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। [5] “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। [6] यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्। [7] तर यदि तिमीहरू ममा रहिरह्यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। [8] तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ। [9] “पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। [10] जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ। [11] मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्! [12] मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। [13] आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। [14] यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्रहरू हौ। [15] अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु। [16] तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ। [17] मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर। [18] “यदि संसारले तिमीहरूलाई घृणा गर्यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। [19] तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। [20] मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्नेथिए। [21] मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्। [22] म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन। [23] मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गर्दछ। [24] पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्। [25] तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’ [26] “जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ। [27] अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”
