John 13:1-38 ONCV
[1] यो निस्तार चाडको अगिल्लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो। [2] बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो। [3] पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्वरबाट आउनुभएको हो र परमेश्वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्ने येशूलाई थाहा थियो। [4] त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो। [5] त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो। [6] जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?” [7] येशूले भन्नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।” [8] पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” [9] सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।” [10] येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।” [11] किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्नुभयो। [12] चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ? [13] तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ। [14] प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। [15] मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। [16] म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन। [17] अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्यौ भने तिमीहरू धन्यका हुनेछौ। [18] “तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’ [19] “यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्वास गर्नेछौ। [20] म तिमीहरूलाई साँच्चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।” [21] यति भनिसक्नुभएपछि येशू आत्मामा धेरै व्याकुल हुनुभयो, र उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।” [22] उहाँले कसलाई भन्नुभएको हो भनेर अलमलमा परी चेलाहरूले एक-अर्कालाई हेराहेर गरे। [23] येशूले प्रेम गर्नुहुने चेला उहाँकै छेउमा अडेस लागेर बसिरहेका थिए। [24] सिमोन पत्रुसले यिनै चेलालाई इशारा गरेर भने, “उहाँले कसलाई भन्नुभएको हो? उहाँलाई सोध।” [25] येशूको शरीरमा अडेस लागेर तिनले सोधे, “प्रभु त्यो को हो?” [26] येशूले जवाफ दिनुभयो, “मैले यो रोटीको टुक्रा भाँडामा चोपेर जसलाई दिन्छु, त्यो त्यही हो।” अनि उहाँले रोटी चोपेपछि सिमोनको छोरा यहूदा इस्करियोतलाई दिनुभयो। [27] यहूदाले त्यो रोटी लियो, र त्यसपछि शैतान त्यसभित्र पसिहाल्यो। तब येशूले त्यसलाई भन्नुभयो, “तिमीले जे गर्नु छ, चाँडो गरिहाल।” [28] येशूले त्यसलाई यो किन भन्नुभयो त्यसको अर्थ त्यहाँ खान बस्नेहरूमध्ये कसैले पनि बुझेनन्। [29] यहूदाले पैसाको हिसाब राख्ने भएको हुँदा सायद चाडको निम्ति आवश्यक कुनै कुरा किन्न अथवा केही पैसा गरिबहरूलाई दिन भनी येशूले अह्राउनुभएको होला भनी कतिले ठाने। [30] रोटी लिएपछि यहूदा तुरुन्तै बाहिर निस्क्यो। त्यस बेला रात परेको थियो। [31] यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्वरको महिमा भएको छ।” [32] यदि परमेश्वर उसमा महिमित हुनुभयो भने परमेश्वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ। [33] “हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ। [34] “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ। [35] तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्नेछन्।” [36] सिमोन पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।” [37] पत्रुसले सोधे, “प्रभु, म अहिले तपाईंसँग किन आउन सक्दिनँ र? म त तपाईंका निम्ति प्राण दिन पनि तयार छु।” [38] तब येशूले भन्नुभयो, “के तिमीले साँच्चै आफ्नो जीवन मेरो लागि दिन्छौ? म तिमीलाई साँच्चै भन्दछु, भोलि बिहान भाले बास्नुअगि नै तिमीले मलाई ‘चिन्दिनँ’ भनी तीनपल्ट अस्वीकार गर्नेछौ!”
