John 10:1-42 ONCV
[1] “म तिमीहरूलाई साँच्चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो। [2] तर ढोकाबाट भित्र पस्ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो। [3] गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ। [4] उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्। [5] तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।” [6] येशूले यो दृष्टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्। [7] त्यसकारण येशूले फेरि भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ। [8] मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। [9] ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। [10] चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ। [11] “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। [12] भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ। [13] त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन। [14] “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्। [15] जसरी पिताले मलाई चिन्नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु। [16] मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ। [17] मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु। [18] मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्त गरेको हुँ।” [19] यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो। [20] तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?” [21] तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्टिविहीनका आँखा खोलिदिन सक्छ र?” [22] यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो। [23] अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो। [24] केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्।” [25] येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्। [26] तर तिमीहरूले विश्वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ। [27] मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्। [28] म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्। [29] मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन। [30] म र मेरा पिता एक हौँ।” [31] यहूदीहरूले फेरि उहाँलाई हान्नलाई ढुङ्गाहरू टिपे। [32] तर येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?” [33] ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्वर हुँ भनी दाबी गर्छौ।” [34] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन? [35] त्यसकारण यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने, [36] पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्ने त? त्यसो हो भने मैले ‘म परमेश्वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्वरको निन्दाको दोष दिन्छौ? [37] मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्वास नगर। [38] यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्वास नगरे तापनि ती अचम्मका कामलाई विश्वास गर। अनि तिमीहरूले यो जान्न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।” [39] फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो। [40] त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्नाले पहिले बप्तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्नुभयो, [41] र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।” [42] अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्वास गरे।
